ताजा समाचार




सिस्नेको मंगलबारे बजारमा लगाइएको रोटेपिङ

अर्जुनधारा     २४ आश्विन २०७८, आईतवार ०५:५५ मा प्रकासित



अर्जुनधारा । दशैं भन्ने बित्तिकै धेरै कुराहरुमध्ये गाँउघरमा लगाइने रोटे पिङ र लिङ्गे पिङको सम्झना आउँछ । तर पछिल्लो समय आधुनिक पिङहरुप्रति मानिसहरुको आकर्षण बढेसँगै संस्कृति झल्काउने यस किसिमका परम्परागत पिङहरु लोप हुँदै गइरहेको छ ।

यसैबीच संस्कृति झल्काउने परम्परागत पिङहरुको प्रबद्र्धन गर्दै त्यसको संरक्षण गर्ने उद्धेश्यले झापाको अर्जुनधारा–१स्थित सयपत्री युवा क्लबले स्थानीय मंगलबारे बजारको प्राङ्गणमा रोटे पिङ र लिङ्गे पिङ लगाएको छ । क्लबले रणबहादुर विष्टको संयोजकत्वमा सात सदस्यीय पिङ निर्माण उपसमिति गठन गरी दुवै पिङ लगाएको अध्यक्ष श्रीप्रसाद नेपालले जानकारी दिए ।

वैदेशिक रोजगारीमा लामो समय बसेपछी गाँउ फर्केका स्थानीय पदमबहादुर निरौलाको परिकल्पना अनुसार उक्त पिङ लगाइएको अध्यक्ष नेपालले बताए । “आधुनिक पिङहरुको विकास पनि परम्परागत पिङहरुलाई नै हेरेर निर्माण गरिएको हुँदा क्लबले यस किसिमका पिङहरु लगाउनु जरुरी थियो ।” परिकल्पनाकार निरौलाले बताए ।

स्थानीय हचुमासा सामुदायिक वन उपभोक्ता समूहले उपलब्ध गराएको खयर र सखुवा प्रजातिको काठहरुबाट निर्माण गरिएको रोटे पिङको लागत अनुमानित एक लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ । निर्माण सुरु भएको एक हप्तामा तयारी भएको उक्त पिङको प्रत्येक पीरा(कोक्रो)मा दुई जना मानिस बस्न मिल्ने गरी चार वटा पीरा राखिएका छन् ।

दशैंको अवसरमा गाँउघरमा आउने स्थानीयहरुसँगै संस्कृति झल्काउने पिङप्रति आकर्षण हुने बाहिर क्षेत्रका मानिसहरुलाई लक्षित गरी क्लबले सुरु गरेको उक्त कार्य सकारात्मक भएको स्थानीय अगुवा सूर्य लोहारले बताए ।

उक्त रोटे पिङको यही सोमबार फूलपातीका दिन विधिवत् उद्घाटन गरिने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया




Top